समाचार

हरियाली ग्रुपको तेस्रो साधारणसभा सम्पन्न

हरियाली ग्रुप प्रा.लि.को तेस्रो साधारणसभा २०७८ पुष ३ गते शनिबारका दिन ग्रुपको म्याग्दी फिल्ड कार्यालयमा सम्पन्न भएको छ । साधारणसभामा संचालक समितिका अध्यक्ष चिनीमैयां श्रेष्ठद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । त्यसैगरी, आर्थिक समितिका संयोजक धनलाल जैशी, बजार व्यवस्थापन समितिका संयोजक सेरबहादुर के.सी., जनशक्ति व्यवस्थापन समितिका संयोजक हरि भण्डारी तथा कार्य-अनुगमन समितिका संयोजक सोमनाथ ढुंगानाले पनि आ-आफ्ना समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

हरियाली ग्रुपद्वारा म्याग्दीको बेनी नगरपालिका वडा नं. ४ मा ३७ जना कृषकहरुको २०३ रोपनी जमिन एकिकरण र चक्लाबन्दी गरी सामूहिक कम्पनी मोडेलमा व्यावशायिक कृषि तथा पशुपंछिपालन गरिंदै आएको छ । कम्पनीमा जग्गाधनी कृषक तथा स्थानीय लगानीकर्ता गरी ६५ जनाको लगानी रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले परियोजना धितोमा सहुलियतपूर्ण कृषि कर्जा उपलव्ध गराएको छ । कम्पनीको कृषि फार्ममा तरकारी खेती तथा पुष्प खेती, अण्डाको लागि लेयर्स कुखुरा पालन, मासुको लागि लोकल कुखुरा तथा कालिजपालन, माछा पालन, बोयर बाख्रा पालन र केहि प्रजातिका फलफूल खेती गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ को दोस्रो लहरको असर बिच पनि रु. २ करोड ७० लाखको अण्डा, रु. २८ लाख ४६ हजारको कुखुरा, रु. २२ लाख ८६ हजारको माछा, रु. ११ लाख ९० हजारको कालिज तथा कालिजको चल्ला र रु. २ लाख ५० हजारको बाख्रा बिक्री भएको छ । अन्य वस्तु तथा सेवा समेतको बिक्रिबाट सो आर्थिक वर्षमा कम्पनीले जम्मा रु. ३ करोड ९३ लाखको आम्दानी गरेको छ ।

जमिन, श्रम, पुंजि र प्रविधिको संयोजन गरी जमिनको उत्पादन र उत्पादकत्व बढाउने, जग्गाधनी कृषकहरुको उच्च आय सुनिश्चित गर्ने, रोजगारी सिर्जना गर्ने र कृषिलाई आयमूलक व्यवशायको रुपमा स्थापित गर्ने सोचका साथ हरियाली मोडेलको कृषि प्रणाली विकास गरिएको हो । जग्गा धनी कृषकहरुकै शेयर लगानीमा कम्पनी स्थापना गरिने, आफ्नै कम्पनीलाई जमिन लिजमा दिई कृषकले लिज भाडा प्राप्त गर्ने र जग्गाधनी कृषक तथा लगानीकर्ताहरु कै परिवारले रोजगारीमा प्राथमिकता पाउने यस मोडेलका प्रमुख विशेषता रहेका छन् ।